कांग्रेसले एकपछि अर्को गर्दै  निरन्तर घात गर्यो अब माफी पाउने अवस्था रहँदैन : वर्षमान पुन

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले  कांग्रेसले एकपछि अर्को गर्दै  निरन्तर घात  गरेको बताएका छन् । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि उनले अब कांग्रेसलाई माफी दिन नमिल्ने बताए ।

गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे । यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने बताए ।

पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे । यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारी विपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए । 

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भइन् ।