दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्ने माध्यम सांस्कृतिक आदानप्रदान नै हो : गृहमन्त्री श्रेष्ठ

 काठमाडौँ  ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदान शक्तिशाली माध्यम भएको बताए ।

सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा साँस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  उनले साझा साँस्कृतिक सम्पदा तथा सदियौँदेखिका परम्पराले पारस्पारिक समझदारी कायम गर्न बलियो आधार प्रदान गरेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई मात्र बलियो बनाउनाका साथै क्षेत्रीय सहयोग र आपसी एकतामा पनि महत्वपूर्ण टेवा दिएको बताए। ‘ 

नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा अनुपम नमूना भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्तिमा आपसी प्रयास आवश्यक रहेकामा जोड दिए।

चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधनका रुपमा उभिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताए।

दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक साझेदारी स्थापना गरेको उल्लेख गर्दै उनले चीन–नेपाल मित्रताले नयाँ अध्यायको ढोका खोलेको बताए।