बिजुलीको पोलमा बाँधेर महिलामाथि तीन दिन निर्घात कुटपिट, श्रीमानसहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा एक महिलालाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म निर्घात कुटपिट गरिएको छ । कमलामाई नगरपालिका–४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

ढकाल गाउँकी शारदा थापामाथि कुटपिट भएको हो । उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको उनले बताए । खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिलवाल नेतृत्वको टोली खटिएको थियो । उनी घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो । गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए । प्रहरी पुगेपछि त्यहाँ भेला भएका स्थानीय भागेको एसपी सिलवालले बताएका छन् ।

आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर शारदाको उद्धार गरेको हो । उद्धारपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ । प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको एसपी सिलवालले बताए । त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पु¥याइएको थियो । एसपी सिलवालले भने, ‘तीन दिनसम्म बाँधेर लाठी, हात, खुट्टाले हिर्काएको भन्ने बयान दिएकी छन् । बोल्न नसक्ने अवस्थामा भएकाले हामीले धेरै कुराकानी गरेका छैनौं । आज अलि ठीक भएको छ ।’ कुटपिटबाट शारदाको शरीरमा निलडामहरू भएको उनले बता ए। अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पनि एसपी सिलवालले बताए ।

यस घटनापछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ । शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ । शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन् । उनले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन् । त्यही डिभोर्सको प्रक्रिया अघि बढाउन उनी केही दिन अघि मात्रै सिन्धुली पुगेकी थिइन् । कुटपिट गर्ने स्थानीयहरूको रिसिइबी शारदासँग भने देखिन्न । तर उनका श्रीमान सन्तोष र ती स्थानीयहरूबीचको लेनदेनको विवादका कारण शारदामाथि कुटपिट भएको एसपी सिलवालले बताएका छन् ।