द्रुत बस सेवा आजदेखि पुनः सुरु , आजबाट ३६ बसले सेवा दिने

 काठमाडौँ - दसैं यता सेवा रोकिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बसले सेवा दिने छ । निजी सवारी साधन नभएकालाई सार्वजनिक यातायातमा आकर्षित गर्नका लागि सुरु गरिएको सेवामा ३६ बसले यात्रु ओसार्ने छन् ।

यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड थपिएका छन् । ११ वटा बस थपेर सेवालाई थप प्रभावकारी बनाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । दसैं तिहारमा यात्रुको चाप कम हुने भएकाले एक महिना सेवा स्थगित गरिएको उनको भनाई छ । मन्त्री ज्वालाका अनुसार बिहान र बेलुकाको पिक आवरमा हरेक तीन मिनेटमा बस छुट्ने छन् ।

अचम्म त के छ भने यो सेवाका लागि अहिलेसम्म कति खर्च भयो यकिन हिसाब कसैले दिन सकेका छैनन् । गत असोज ३ गते संविधान दिवसका अवसरमा सुरु गरिएको द्रुत बस सेवाका लागि तीन करोड रुपैयाँ खर्च लागेको बताइएको थियो ।

पछिल्लो समय गरिएको रंगरोगन , थपिएका बोर्ड तथा बस संचालनका लागि भएको खर्चको हिसाब भने सरोकारवाला कार्यालयले दिन सकेका छैनन् ।