अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार

वासिङ्टन - बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् ।

समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिए ।

“मेरो बुझाइमा बलिङ एल्लीमा गोली चलाउनेहरुको अस्थायी पहिचान खुलेको छ, घटनामा २२ जना मारिएको पुष्टि भएको छ र धेरै नै घाइते भएका छन्”, म्याक्कार्थीले भने ।

उनका अनुसार घाइतेहरूको उपचारका लागि सेन्ट्रल माइन वरपरबाट उद्धार सवारी साधन पुगेका थिए र दुई लेविस्टन अस्पतालले उनीहरूको उपचारका लागि बिदामा बसेका सबै कर्मचारीलाई बोलाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज भइरहेका बेला राष्ट्रपति जो बाइडेनले माइनका गभर्नर, दुई सिनेटर र एक स्थानीय काङ्ग्रेसका सदस्यलाई फोन गरेर संघीय सहयोग प्रस्ताव गर्न आग्रह गरेको ह्वाइट हाउसले बताएको छ ।