रेड नोटिस जारी भएका तीन जना आरोपी दुबईबाट पक्राउ गरि नेपाल ल्याइयो  

काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका छन् । दुबईबाट पक्राउ गरी बुधबार तीनै जनालाई काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूरका आरोपि पाँचथर मिक्लाजुङ गाउँपालिका ४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका ९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् ।

यस्तै, जबरजस्ती करणी सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका १० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् ।

उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।