विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रममा यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण  भएको धारणा राखे।

उनले विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताए। ‘धनी र गरिब मुलुकका बीच स्वास्थ्य सेवा र पूर्वाधारमा असमानता रहेको छ। आर्थिक कठिनाइका कारण गरिब मुलुकका जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्’, उनले भने, ‘प्राप्त स्रोत साधनबीच नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी सबैलाई आधारभूत स्वास्थ्य सेवा दिने लक्ष्यका साथ काम गरिरहेको छ। हामी यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको अपेक्षा गर्दछौँ।’

प्रधानमन्त्री ओलीले मानिसलाई बिरामी भएपछि उपचार गर्ने भन्दा पनि बिरामी नै हुन नदिने गरी निरोगी नेपालको अभियान सञ्चालन गरिएको भन्दै उनले यो अभियान ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको एक अङ्ग भएको बताए। 

उनले नेपालले मातृशिशु मृत्युदरमा उल्लेख गिरावट ल्याउनेलगायत सुधारका काम गरेको तर स्रोतसाधनको अपर्याप्तताका कारण हुनुपर्ने जति स्वास्थ पूर्वाधार विकास नभएको जिकिर गरे। ‘गुणस्तरीय र सहज जीवनयापनका लागि स्वस्थ्य रहनु अनिवार्य छ। त्यसैले दिगो विकासका लक्ष्यहरूको कार्यान्वयनका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भए पनि आधुनिक र पूर्वाधारसम्पन्न स्वास्थ्य सेवाका लागि अन्तर्राष्ट्रिय समुदायको साझेदारी आवश्यक छ।’