जिम्मेवारीबाट हटाइयो भैंसेपाटी प्रहरी प्रभागकी इन्स्पेक्टर, अरु दुई जना पक्राउ

काठमाडौँ । प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ ।

बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोपमा बुधबार उनलाई जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका प्रमुख प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

यस्तै, आर्थिक लेनदेनमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।

ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

घटनाको अनुसन्धानका लागि ललितपुर परिसरका डीएसपी नरहरि अधिकारीको कमाण्डमा ५ सदस्यीय समिति बनाइएको छ । समितिलाई जतिसक्दो चाँडो रिपोर्ट बुझाउन भनिएको पनि एआईजी बज्राचार्यले बताएकी छन् ।

समितिको प्रतिवेदनपछि थप कारबाही गर्ने वा सफाइ दिने भन्ने निर्णय हुनेछ ।