भदौ १५ गतेदेखि सर्वसाधारणमा प्रिमियम मूल्यसहित आईपीओ जारी गर्दै सिटिजन लाइफ

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता  २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री गरेको छ । बाँकी १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिएको छ । 

सर्वसाधारण लगानीकर्ताहरूमा जारी भएको आईपीओ विक्री अवधि छिटोमा भदौ १९ गतेसम्म र ढिलो अवधि भदौ २९ गतेसम्मका लागि तोकिएको छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ समेत छिटो अवधि भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । 

लगानीकर्ताहरूले आवेदन पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ साल कात्तिक २ गतेदेखि कारोबार सुरू गरेको हो ।

हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर सञ्चित नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १७२ रूपैयाँ ४३ पैसा रहेको छ ।