जहाज दुर्घटनाका मृतकको पोष्टमार्टम सकियो, आजै शव आफन्तलाई दिइने

काठमाडौँ । सौर्य एअर विमान दुर्घटनामा परि मृत्यु भएका १८ जनाको  पोष्टमार्टम सकिएको छ । शुक्रबार बिहान पोष्टमार्टमको काम सकिएलगतै पहिचानको काम भइरहेको अस्पताललको जनाएको छ ।

यद्यपी मृतकका परिवारले भने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् । अस्पतालका फोरेन्सिक विभागका प्रमुखप्रमुख डा. गोपाल प्रसाद चौधरीका अनुसार, लगातार गरिएको पोस्टमार्टमपछि शुक्रबार बिहान काम सकिएको हो। चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ ।

शव पोष्टमार्टमको लागि भक्तपुर पाटन र शिक्षण अस्पताल गरि २५ जना चिकित्सक खटिएका थिए ।  शव पहिचानको लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरिरमा स्थायी रुपमा बनेका संकेतहरू (खत, ट्याटु लगायत) हेरिनेछ। त्यस्ता साइनबाट पनि पहिचान हुन नसके डीएनएको प्रक्रिया मार्फत जाने डा. चौधरीले बताए ।

पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सौर्य एयरलाइन्सका व्यवस्थापकसहित कर्मचारी र आफन्त गरी १८ जनाको मृत्यु भएको थियो।