ललितपुर ग्वार्कोको गेष्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु

काठमाडौँ - ललितपुर महानगरपालिका–७ ग्वार्कोस्थित  एक गेष्ट हाउसमा अचेत अवस्थामा भेटिएकी परेकी युवतीको उपचारका क्रममा ज्यान गएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् । ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार उनी गोदावरी नगरपालिका–८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेष्ट हाउसमा आएकी थिइन् ।

बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एण्ड बी अस्पतालमै उपचार भइरहेको छ । एसपी सुवेदीले  घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।