लमजुङ पहिरो अपडेट : बेपत्ता चारै जनाको शव भेटियो

लमजुङ - लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गए राति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिरोले तीन वटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।

तीमध्ये रुद्रमान गुरुङको शव मङ्गलवार बिहान फेला परेको थियो भने बेपत्ता रहेका ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनका दुई जना छोरीहरू ८ वर्षीया इच्छा गुरुङ अनि ४ वर्षीया नम्रता गुरुङको बुधबार फेला परेको उनले बताए । ज्यान गुमाएका रुद्रमानकी श्रीमति र छोरा छिमेकीको घरमा सुत्न गएकाले उनीहरूको ज्यान जोगिएको प्रहरीको भनाइ छ ।