प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताए ।

भेटमा एडिबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडिबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने बताए ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटा एवं एडिबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति थियो ।