आज मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौँ - आज मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । सोही स्मृतिमा नेकपा एमाले र मातहतका संगठनले अधिकारीको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउन लागेका छन् ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा ०५१ मा नेकपा एमालेले ९ महिना सरकार चलाएको थियो । ९ महिने सरकारको लोकप्रियताको जस अहिले पनि नेकपा एमालेले पाउँदै आएको छ । अधिकारी प्रधानमन्त्री भएकै बेला आफ्नो गाउँ आफै बनाउँदेखि सामाजिक सुरक्षा भत्तालगायतका निकै लोकप्रिय कार्यक्रम ल्याएका थिए ।

अहिले पनि एमालेले हरेक निर्वाचनमा ०५१ को ९ महिने सरकारका लोकप्रिय कार्यक्रमको चर्चा गर्दै आइरहेको छ । अधिकारीले तत्कालीन समयमा पार्टी अध्यक्षको नेतृत्व समेत सम्हालेका थिए ।