अबको निर्वाचनमा पूर्ण बहुमत ल्याउने गरी अभियान थाल्न कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौँमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको बताए ।

सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने बताउँदै उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरुलाई हुने जिकिर गरे ।

सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुने पनि बताउँदै उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट भएको बताए ।

‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको छ । सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ । त्यसैले स्थायी सरकार पनि भनिन्छ। कर्मचारीहरुको मुलुक निर्माणमा अत्यन्त ठूलो भुमिका हुन्छ,’ उनले भने ।