ललितपुर ढोलाहिटी हत्या प्रकरण : पक्राउ परेका १८जना मध्ये ५ जनाविरुद्ध मुद्दा चलाइने

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा पक्राउ परेका १८ जनामध्ये पाँच जनाविरुद्ध मुद्दा चलाइने  जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाइन लागिएको  बताइएको छ । खोटाङका विजय राई, सुलभ राई, भोजपुरका मुकारुङ राई र काठमाडौँका छेङ्वीहाङ राई विरुद्ध मुद्दा चल्नेछ । उनीहरु यसअघि नै पक्राउ परिसकेका छन् ।

यस्तै घटनापछि फरार राजु गुरुङको खोजी भइरहेको र उनीविरुद्ध पनि मुद्दा चल्ने प्रहरीको भनाइ छ ।

ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा दुई युवाको हत्याको कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टमा सोमबार राति दुई जनामाथि चक्कु प्रहार भएको थियो । घटनामा सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो ।

रोबसको कोखमा चक्कु प्रहार गरिएको छ । पुजनको तिघ्रामा प्रहार गरेर रेस्टुरेन्टमा लामो समय राखेर ओभर ब्लिडिङ्ग गराएको भेटिएको छ ।

राति ११ बजेतिर घटनाबारे खबर पाएपछि अनुसन्धान थालिएको ललितपुरका  एसएसपी शेखर खनालले जानकारी दिए ।