लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष खड्का सहित पाँचजना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित पाँच जनालाई  विशेष अदालतले दोषी ठहर गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्य  २२ जनाले भने सफाइ पाएका छन् । 
 
खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो । खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।  
 
त्यसैगरी न्यौपाने र चौलागाईको एकमा जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ भने  तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना हुने भएको छ ।