बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएन : डा.आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरिन् । उनले बजेट दिनका लागि सांसदहरू हानथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको बताइन् । सरकारले बजेट कसरी खर्च गर्ने रु र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘आज हामी प्रि–बजेटको छलफल गरिरहेका छौँ, बजेटको लागि हामी सबै सांसदहरू हानथाप गर्दछौँ । मेरो क्षेत्रमा हालिदिनुस् भनेर तर, दुई–तीन दिनअघिको हेडलाइनमा १५ देखि २० प्रतिशत मात्रै प्रदेशमा बजेटहरू ‘स्पेन्ट’ भयो भनेर । कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगे पनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाइरहेको छैन । नेपाल सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।’

उनले कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको भुक्तानी गर्न दिएको निर्देशन कहाँ पुग्यो ?  भन्दै प्रश्न गरिन् ।