केन्द्रदेखि प्रदेशसम्म एमाले सरकार बाहिर!

काठमाडौं - आफूले समर्थन गरेर प्रधानमन्त्री बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दलीय गठबन्धनलाई तोड्दै पुरानै गठबन्धन ब्युँताएपछि केन्द्रदेखि प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन्।

यसअघि पुस १० गते बनेको सात दलीय गठबन्धनअनुसार बनेका प्रदेश सरकारहरू संघमा नयाँ गठबन्धन बनेसँगै फेरबदल हुने देखिएको हो।

हाल तीन वटा प्रदेशमा एमाले, दुई वटामा माओवादी र एक एकवटामा कांग्रेस र जसपा नेतृत्वमा सरकार गठन भएका छन्। सत्ता समीकरणसँगै एमालेले नेतृत्व गरेको तीनवटै प्रदेश सरकार फेरबदल हुने भएका हुन्। एमालेले फागुन २६ भन्दा अगाडि  केन्द्र सरकारबाट नबाहिरिने बताएकाे छ।

केन्द्र सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रदेखि प्रदेश सरकारबाट बाहिरिइसकेको छ। यसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिए पछि एमालेले नेतृत्व गरेका तीनवटै प्रदेश सरकार परिवर्तन हुने भएका हुन्।

राष्ट्रपति निर्वाचनलाई लिएर माओवादी केन्द्रले पुरानै गठबन्धन ब्युँताएपछि वर्तमान गठबन्धन संकटमा परेको हो। राष्ट्रपति निर्वाचनलाई लिएर आठ दलले नयाँ गठबन्धन बनाएका छन्।

शुक्रबार बनेको गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा छन्। यसअघि गत पुस १० गते एमालेसहितका सात दलको गठबन्धनको समर्थनमा सरकार बनेको थियो।

प्रदेश १, लुम्बिनी र गण्डकीमा एमाले नेतृत्वका सरकार छन्। सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार विश्वासको मत नपाएपछि ढलेको थियो। नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि समीकरण बने बाँकी तीनवटा प्रदेश सरकार पनि अल्पमतमा पर्ने देखिएका छन्।

एमालेबाहेकका सरकार भने सुरक्षित जस्तै छन्। मधेशमा नयाँ गठबन्धनको बहुमत छ। जसपा नेतृत्वको सरकारले मधेशमा निरन्तरता पाउने देखिएको छ।