राष्ट्रिय योजना आयोगद्वारा आगामी आवका लागि १६ खर्ब ८८ अर्ब ४ करोडको बजेटको सीमा निर्धारण

काठमाडौं - राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १६ खर्ब ८८ अर्ब ४ करोड रूपैयाँको बजेटको सीमा निर्धारण गरेको छ  ।

आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिको बैठकले बजेट सीमा तय गरी सरकारलाई त्यसैअनुसार काम गर्न मार्गदर्शन दिएको हो ।

यो आकार चालु आर्थिक वर्ष विनियोजन भएको बजेटभन्दा झन्डै डेढ खर्ब रुपैयाँले कम हो  ।

चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याउनुभएको थियो । जसअनुसार राजस्व प्राप्त हुन नसक्ने भएपछि अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाउनुभएको छ ।

यो वर्ष १५ खर्ब ४९ अर्ब ९९ करोड रूपैयाँ मात्रै बजेट खर्च हुने संशोधित अनुमान अर्थमन्त्री पौडेलले गर्नुभएको छ । यो अंकभन्दा आगामी आर्थिक वर्षको बजेट सीमा १ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँले बढी हो  ।

आगामी वर्षको बजेटका लागि सरकारले आगामी वर्ष १४ खर्ब ३ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन गर्ने अनुमान आयोगले गरेको छ । यो राजस्व चालु आर्थिक वर्ष संकलन हुनेभन्दा करिब १४ प्रतिशत वृद्धिको अनुमान हो ।