संसद भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खेसियो

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका प्रहरी निरिक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय नक्सालले जिम्मेवारबाट हटाएको छ ।

सोमबार दिउँसो संसद बैठक लगतै लघुवित्त पीडित आन्दोलनकारीहरू संसद् भवन छिरेर प्रदर्शन  गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो ।

उनीहरूको स्थानमा नयाँ कर्मचारी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। संसद् भवनको सुरक्षामा विशेष कार्यदलका प्रहरी खटिन्छन्। आन्दोलनकारी पसेको बेला डीयूटीमा रहेका ३२ जना प्रहरीलाई त्यहाँबाट हटाइएको हो।

प्रहरीले ४९ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ। घटना छानबिनका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति पनि गठन भएको छ। यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर यस बारेमा जानकारी समेत लिएका छन्।