सरकारी अनुदानमा आएको एक सय ३० बोरा मल बाटोबाटै गायब

काठमाडौँ ।  सङ्घीय सरकारद्वारा अनुदानमा किसानका लागि पठाइएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले  पाएको मल बाटो बाटै हराएको हो ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा (प्रतिबोरा ५० किलो) सङ्घीय सरकारबाट अनुदान प्राप्त भएको थियो ।

उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेस भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ । उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।