थुनुवा भगाएर फरार रहेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौँ ।  थुनुवालाई भगाइ आफू पनि फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन्। शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

पक्राउ पर्नेमा तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। उनी पथरावुधाम ३ रौतहटका रहेको प्रहरीले बताएको छ।

उनले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखतसमेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली फरार गरेको अभियोगमा १६ वर्षपछि भारत सिमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले बताए।

घिमिरेले पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने बताए। तत्कालीन समयमा एक करोडबाट शुरु गरी १० लाखमा डिल गरी ६ लाख २५ हजार निजले पाएको प्रहरीले बताएको छ।

पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको पनि उनले बताए।