नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी ७८औँ स्थापना दिवस मनाउँदै

काठमाडौँ ।  सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै छ । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसको तयारी छ ।

स्थापना दिवसलगत्तै नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका आशा, अपेक्षा, सुझाव तथा गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।