प्रचण्ड परिवारमाथिको प्रचारबारे गङ्गा दाहालको प्रतिक्रिया: ‘मिडिया ट्रायल भयो’

  • शुक्रबार​ २९ जेठ २०८३ ०३:१३ PM
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’की छोरी गङ्गा दाहालले आफू र आफ्नो परिवारविरुद्ध योजनाबद्ध रूपमा  ‘मिडिया ट्रायल’ भइरहेको आरोप लगाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै दाहालले नाम नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टबाट फैलाइएका आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण प्रचारलाई पूर्ण रूपमा खारेज गर्ने बताएकी हुन् । उनले राजनीतिक पूर्वाग्रह राखेर सामाजिक सञ्जालको दुरुपयोग गरी आफूहरूलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएकी छन् । 'यस्ता दुष्प्रचार गरेर समाजमा भ्रम सिर्जना गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही गर्न म माग गर्दछु,' उनले लेखेकी छन् । दाहालले भाइ प्रकाश दाहालको निधनपछि पार्टीकै निर्णयअनुसार नेतृत्वलाई सहयोग गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नराखी पार्टी तथा नेतृत्वको हितमा आफ्नो समय र क्षमता समर्पित गरेको दाबी गरेकी छन् । उनले पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई आफूहरूविरुद्ध चलाइएको भनिएको मिडिया ट्रायलको प्रतिवाद गर्न आग्रह समेत गरेकी छन् । 'सरकारका सम्बन्धित निकायले आवश्यक ठानेको जुनसुकै छानबिन वा अनुसन्धानका लागि हामी पूर्ण रूपमा सहयोग गर्न प्रतिबद्ध छौँ,' उनले भनेकी छन् । उनले आम नागरिकलाई अफवाह र भ्रममा नपर्न आग्रह गर्दै सत्यलाई भ्रमले पराजित गर्न नसक्ने उल्लेख गरेकी छन् ।