भावी सेनापति हुन जर्नेल सिग्देलका लागि सेनाले बाटो खोल्यो

काठमाडौँ - नेपाली सेनाले आफ्नो भावी नेतृत्वका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । आज शुक्रबार अपरान्ह सात दिने आन्तरिक सूचना जारी गर्दै नेपाली सेनाले रथी पदका लागि पदोन्नतिको प्रक्रिया अघि बढाएको छ ।

यो सूचनाका आधारमा रथी पदका एकमात्र दावेदार उपरथी अशोक सिग्देल रहेका छन् । सात दिने सूचनापछि सिग्देलको नाम रथी पदमा पदोन्नतिको सिफारिस सहित रक्षामन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइने छ ।

सैनिक स्रोतका अनुसार रथी पदमा पदोन्नतिको प्रक्रिया शुरु गर्नुअघि जर्नेल सिग्देलको शैक्षिक प्रमाणपत्र, नागरिकतालगायतका सबै कागजातहरु छानविन गरिएको थियो ।