एमालेको बागमती प्रदेश अधिवेश शुरु : ड्रोनले ब्यानर उडायो, रिमोर्टले दियो बाल्यो

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेको पहिलो बागमती प्रदेश अधिवेशन शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डमा एमालेले अधिवेशन उद्घाटन समारोहलाई हाइटेक बनाएको छ । ड्रोनले अधिवेशनको ब्यानर उडयो भने रिमोट कन्ट्रोलरबाट दियो बालिएको छ ।

देश संघीयतामा गएपछि एमालेले पार्टीलाई संघीय संरचनाअनुसार पुनःसंरचना गरे पनि प्रदेशको अधिवेशन पहिलो पटक हुन लागेको हो । अधिवेशनले नयाँ प्रदेश कमिटी चयन गर्नेछ । अधिवेशनमा १ हजार ८० जना प्रदेश अधिवेशन प्रतिनिधिले भाग लिएका छन् ।

प्रदेश कमिटीको नेतृत्व लिन आधा दर्जन नेताले इच्छा देखाएका छन् । सकेसम्म सर्वसहमतिबाट नेतृ्त्व चयन गर्ने र सर्वसहमति हुन नसके चुनाव गराउने एमालेको तयारी छ । यसअघि नेकपा एमाले लुम्बिनीको पहिलो अधिवेशन सम्पन्न भइसहेको छ । जहाँ चुनावबाट कमिटी चयन गरिएको थियो ।