काठमाडौँ महानगरद्धारा खुद्रा तथा थोक बिक्रेतालाई कामपाको ४ बुँदे निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे निर्देशन दिएको छ। महानगरपालिकाका प्रमुख बालेन साहले आज ती चारबुँदे निर्देशन जारी गरेका हुन्।

महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रेतालाई महानगरपालिकाले मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्नेछ,अङ्कित अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्ने निर्देशन दिएको छ।

त्यसैगरी उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्ने, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्ने निर्देशन दिएको छ।

महानगरपालिका प्रमुख शाहले भनेका छन्, ‘अनुगमनका क्रममा माथि उल्लिखित अवस्थाविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।’

केही समस्या परे वा उजुरीका लागि ११८० मा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ।