एमाले बागमतीको प्रथम अधिवेशन आजदेखि सुरु, को–को छन् नेतृत्वको आकांक्षीहरु ? 

काठमाडौँ - नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आज सोमबारदेखि काठमाडौंमा हुँदैछ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले डिजिटल माध्यमबाट चल्ने रोबोर्टको प्रयोग गरेर अधिवेशनको उद्घाटन गर्ने छन् ।
अधिवेशनको बन्दसत्र भने भोलि मंगलबार बिहानबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।

अधिवेशनमा प्रतिनिधिका रूपमा स्थानीय तहबाट १२५ जना संगठित सदस्य बराबर एक जना, एकतिहाई महिला अनिवार्य, १० प्रतिशत ४० वर्षमुनिका युवालाई अनिवार्य सहभागिता गराइएको छ । अधिवेशनमा ४० वर्ष मुनिका १२० जना युवा प्रतिनिधिको रूपमा सहभागि हुने छन् ।

त्यस्तै कूल प्रतिनिधिको एकतिहाई अर्थात ३५० जना महिला प्रतिनिधि सहभागि हुने छन् । दलित प्रतिनिधिको हकमा ५० जना बराबर एकको व्यवस्थापन गरिएको छ । अधिवेशनमा प्रदेशभरबाट एक हजार १३८ जना प्रतिनिधि सहभागि हुने छन् ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्ने प्रदेश अध्यक्ष केशवराज पाण्डेले बताए । उनका अनुसार कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहने छन् ।

अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको बताए । नेतृत्व चयन सर्वसम्मत नभए निर्वाचनमा जाने एमाले बागमतीले जनाएको छ ।

प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यसहित आधा दर्जन आकांक्षी देखिएका छन् । अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल मकवानपुर, कैलाश ढुंगेल रामेछाप, रचना खड्का दोलखा, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डे नुवाकोट, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ काठमाडौं आकांक्षी रहेका छन् ।