कांग्रेस जब सत्तामा, पार्टीभित्र भागबन्डाको भाँडभैलो

काठमाडौँ - प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र भागबन्डाको भाँडभैलो सुरु भएको छ ।
नेता डा शेखर कोइराला र महामन्त्री गगनकुमार थापा नेतृत्वको संस्थापनइतर पक्षले भागबन्डामा बेवास्ता गरिएको भन्दै संस्थापन पक्षको नियतमाथि प्रश्न उठाएको छ ।

सङ्घीय मन्त्रिपरिषद् गठनताका केही मिलाएको भएपनि प्रदेश मन्त्रिपरिषद्‌मा आफूहरूलाई भाग नपुर्‍याएको भन्दै संस्थापनइतर पक्षका नेताहरूले प्रश्न उठाएका हुन् । मङ्गलबार नेताहरूले यसबारे छलफल गरेका थिए ।

त्यसो त संस्थापनइतर पक्षले सङ्घीय मन्त्रिपरिषद्‌मा पनि कम्तिमा ५ मन्त्रालय मागेको थियो तर, सभापति शेरबहादुर देउवाले ४ मन्त्रालय दिए । त्यसबाट संस्थापनइतर पक्ष खुसी नै थियो । तर, प्रदेश मन्त्रिपरिषद् गठनमा भने उसले असन्तुष्टि जनाएको छ ।

प्रदेशमा पनि दाहासाही भागबन्डा हुनुपर्ने बताइरहेको संस्थापनइतर पक्ष लुम्बिनीमा २ मागेकोमा १ मात्रै प्राप्त भएसँगै झस्कियो र लगत्तै डा। शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा नेताहरू भेटे र सबै प्रदेशमा गरी कम्तिमा ११ मन्त्रालय पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

नेताहरूको निष्कर्षअनुसार लुम्बिनीमा कम्तिमा २ मन्त्रालय हो तर, त्यहाँ मन्त्रिपरिषद् विस्तार भइसकेको छ । यस्तै उनीहरूले कोशीमा २, बागमतीमा ३, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ गरी ७ प्रदेशमा ११ जना मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ ।

बैठक सकिएलगत्तै नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई फोन गरेर आफ्नो पक्षको धारणा सुनाएका थिए । नेताहरूले बताएअनुसार देउवाले जवाफमा छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।