हाम्राबिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन् : माधव नेपाल

 काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबिरुद्ध षड्यन्त्र शुरु भएको बताएका छन् । आज पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीबिरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आएको बताएका छन् ।

‘हाम्रा बिरुद्धमा अनेकौं किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो रु थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ,’ उनले भने, ‘लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ । त्यसको बारेमा हामीले जानकारी हासिल गर्नुपर्छ । त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ । यसअर्थमा विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग हामीले संवाद जारी राख्नुपर्छ ।’

उनले सो बारेमा यकिन नभइसके पनि पार्टीबिरुद्ध षड्यन्त्र शुरु भएको बताए । उनले षड्यन्त्रका बिरुद्धमा गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए । उनले पार्टीले पूर्ण शतर्कता अपनाउनु पर्ने पनि बताए । अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।