भारतमा गरगहना पसलमा चोरीको प्रयास गर्ने चार नेपाली पक्राउ

 काठमाडौँ - भारतको बेंगालुरूमा गरगहना पसलको पर्खालमा प्वाल पारेर चोरीको प्रयास गर्ने चार नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही छन् ।

भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्नका लागि पसलको पर्खालमा ड्रिलिङ गरिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । उनीहरू बुधबार बिहान १स्१५ बजे सो पसलमा पुगेका थिए । उनीहरूले ड्रिलिङ गरेको थाहा पाएपछि सोही पसलका कर्मचारीले मालिकलाई खबर गरेका थिए । लगत्तै प्रहरीलाई पनि खबर गरिएपछि उनीहरू पक्राउ परेका थिए ।

उनीहरू यसअघि पनि चोरी काण्डमा परेर पक्राउ परेकोमा दुई हप्ता अघि मात्रै छुटेका थिए । त्यसपछि उनीहरू सुरक्षा गार्ड र ज्यालादारी कार्यमा पनि संलग्न हुँदै आएको बताइएको छ ।