'बयानकै आधारमा नाम आएकालाई पक्राउ गर्न मिल्दैन, अनुसन्धान हुँदैछ' : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन् । 

बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताए । उनले देशमा भ्रष्टाचारको जालो व्याप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।