उपनिर्वाचनको ‘मौन’ अवधि शुरु, के-के गर्न पाइँदैन ?  

काठमाडौँ । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति १२ बजेबाट निर्वाचन नसकिएसम्मका लागि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

निर्वाचन आचार संहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा प्रदेशसभा निर्वाचन हुँदैछ ।

इलाममा १९ जना र बझाङमा ११ जना उमेदवार चुनावी मैदानमा रहेका छन् । 

यस्तै उमेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट पनि मत माग्न निषेध गरिएको छ। निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमान सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य गर्न पाइँदैन। 

त्यस्तै, प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देशन दिएको छ। नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्न आयोगले निर्देशन दिएको छ ।