चितवन–२ बाट रवि लामिछाने उच्च मतान्तरसहित बिजयी, आफ्नै रेकर्ड ब्रेक गर्न सफल !

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएका छन् । यसअघि मंसिर ४ को निर्वाचनमा ४९ हजार ३ सय मत ल्याएर निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ दोस्रो पटक निर्वाचित भएका हुन् । 

केही बेर अघि सम्पन्न मतगणना अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका हुन् । उनले आफ्नै रेकर्ड ब्रेक गरे । 

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन् । ४२ हजार ९ सय ६२ मत अन्तर रहेको छ । नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका छन् । 

मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।