सुनकोशीमा बेपत्ता भएका तीन बालबालिकाको खोजी जारी  

काठमाडौँ । उदयपुरको सुनकोशी नदीमा आइतबार अपराह्न बेपत्ता भएका तीन बालबालिकाको खोजी भइरहेको छ।

राति अबेरसम्म नभेटिएपछि बिहानैदेखि पुनः खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए।

उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डमा ९ जनाको गोताखोर टोली परिचालन भएको प्रहरीले जनाएको छ।

त्रियुगा–१४ साउनेका ११ वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन्।  वडाध्यक्ष हेमराज मगरका अनुसार उनीहरू हिजो दिउँसो होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्।

नुहाउन गएका पाँचमध्ये दुईजना चाहिँ निक्लिन सफल भएका थिए।