चिसापानीस्थित कर्णाली पुलबाट हामफालेका १७ युवामध्ये एकजना बेपत्ता  

काठमाडौँ । चिसापानीस्थित कर्णालीको पुलबाट सोमबार हामफालेका १७ जना युवामध्ये एकजना नदीमा बेपत्ता भएका छन्।

कर्णालीमा हामफालेका लम्कीचुहा नगरपालिका-३ चिसापानीका करिब ३० वर्षका लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन्। 

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टका अनुसार ती युवाहरु हामफाले लगत्तै डुंगाबाट खोजी गरिए पनि एकजना चाहिँ फेला परेनन्।

खोजीका लागि गोताखोर पठाइए पनि रात परेकाले खोजी हुन नसकेको र मंगलबार विहान खोजी गरिने भएको छ।

प्रहरीका अनुसार १७ जना युवा पुलबाट हाम फालेका हुन्। पुलनजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले पुलमा फोटो खिच्ने भनेर गएका तर पुलमाथिबाट नदीमा झ्वाम्मझ्वाम्म हामफालेका प्रत्यक्षदर्शीले बताएका छन्।