एमालेले माग्यो चार मन्त्रीको राजिनामा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चार मन्त्रीको राजीनामा माग गरेको छ। आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराती र

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे। उनले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानबिनमा रहेका स्वास्थ्यमन्त्री बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटनमन्त्री किरातीले तत्काल राजीनामा दिन आवश्यक रहेको बताए।

उनले नेकपा एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरे पनि सरकारले बेवास्ता गरिरहेको बताए। प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्नु नपर्ने बताए।

उनले भने, ‘हामी गत ६ गतेदेखि संसदमा बालकुमारी घटनाका दोषी भौतिकमन्त्री र बालकुमारी घटनामा गोली ठोक्न आदेश दिने गृहमन्त्रीको विरुद्धमा आवाज उठाइरहेका छौँ। अख्तियारको छानबिनमा रहेका स्वास्थ्यमन्त्री मन्त्री पदमा बस्न मिल्दैन। उहाँको राजीनामा मागिरहेका छौँ। रामग्राम लिजमा दिने पर्यटनमन्त्रीको राजीनामा मागिरहेका छौँ। सरकार सुन्न तयार छैन। प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिर हिँडिरहनुभएको छ। प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्दैन। सरकारले बलिमिच्याईं गरेर अघि बढ्दा माग सम्बोधन हुन सकेका छैनन्। दोषी मन्त्रीहरुलाई तत्काल बर्खास्त गरोस्।‘