भन्सार नाकामै रोकिए तीन हजार बढी गाडी

काठमाडौं - विभिन्न भन्सार नाकामा तीन हजार बढी गाडी रोकिएको व्यवसायीले बताएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ (अटो लोन) स्वीकृत नगर्दा गाडी नाकामै रोकिएको गाडी व्यवसायीले बताएका हुन् ।

देशमा तरलता अभाव तथा अटो लोनमा कडाइका कारण गाडी नाकामै थन्किएको उनीहरूको भनाइ छ । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भन्सार नाकामा गाडी थन्कने क्रम बढ्न थालेको जनाएको छ । नाडाका अध्यक्ष धुव्र थापाले बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा भन्सार नाकामा गाडी रोकिएको बताए ।

विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै सरकारले गत वैशाख १३ गतेदेखि चारपाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले आयातमा प्रतिबन्ध लगाउनु अगाडिदेखि नै भन्सार नाकामा सार्वजनिक सवारी (प्यासेन्जर भेकल) थन्किएको उनले जानकारी दिए । “प्रतिबन्ध लाग्नु अघिदेखि नै केही व्यवसायीले गाडी छुटाउन सक्नुभएको थिएन, अहिले थपिँदै तीन हजारभन्दा बढी भइसकेको छ”, उनले भने, “तत्काल राष्ट्र बैंकले अटो लोनमा गरेको कडाइ नहट्दासम्म गाडी ल्याउन सक्ने क्षमता व्यवसायीमा छैन ।”

उनका अनुसार वीरगञ्ज र भैरहवा भन्सार कार्यालयमा सबैभन्दा धेरै गाडी रोकिएको छ । “एउटा गाडी छुटाउन रु ३५ लाखदेखि एक करोडसम्म भन्सार शुल्क पर्छ, धेरै गाडी छुटाउन सक्ने अवस्थामा हामी व्यवसायी छैनाँै, बैंक तथा वित्तीय संस्थाले लोन नदिएसम्म गाडी ल्याउन सकिँदैन”, उनले भने । नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशतबाट पुरानै अवस्था ७५ प्रतिशतमा नल्याएसम्म सवारी साधनको खरिद बिक्रीमा कुनै सुधार हुन नसक्ने उनको भनाइ छ ।