फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने

डुम्रे - पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ। उक्त सडकखण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ।

मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी राति यातायात बन्द गरी कार्य गरिने भएको हो।

राजमार्गको विमलनगरदेखि घाँसीकुवासम्मको खण्डमा भीर कटान (ब्याक कटिङ)को कार्य छिटोछरितो गर्नका लागि मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डबाट अनुरोध भई आएबमोजिम सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

उनका अनुसार फागुन १८ गतदेखि २७ गतेसम्म राति पूर्णरूपमा बन्द गरी काम गर्ने निर्णय भएको छ।

दश दिन राति १२ बजेदेखि ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन दैनिक पूर्ण बन्द गरी काम गरिने प्रजिअ रिजालले बताए।

“मनसुन सुरु हुने बेला भएको छ, मनुसनलाई मध्यनजर गरी निर्माण कार्यलाई सहज, छिटोछरितो बनाउने उद्देश्यले यो निर्णय गरिएको हो”, उनले भने, “यसले पछिल्ला दिनमा यस राजमार्गमार्फत आवतजावत गर्ने सवारीलाई सहज हुनेछ।”

राजमार्गको विस्तारको काम सुस्त भएपछि यसबारे गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेशसभामा कुरा उठाएका छन्। उनले कामको गति सुस्त रहेकाले समयमै सम्पन्न नहुने हुँदा कामको गति बढाउन प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।