परराष्ट्रमन्त्री डा पौड्यालद्वारा प्रभावकारी सेवा प्रवाह गर्न राजदूतहरुलाई निर्देशन

काठमाडौं - परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीति नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन्।

परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरिन्।

उनले दूतावासहरूलाई मित्रराष्ट्रसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा उपस्थित भई नेपालको छविलाई उकास्न निर्देशन दिइन्।

विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सीप र क्षमताको पहिचान गरी आवश्यक पर्दा नेपालको विकासमा सदुपयोग गर्ने वातावारण बनाउन पनि परराष्ट्रमन्त्री पौड्यालले आग्रह गरिन्।