शनिबारदेखि धरानमा बुढासुब्बा गोल्डकप, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने

धरान - मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औँ संस्करण भोलिदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुँदैछ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। उद्घाटन समारोहमा ब्रिटिस गोर्खा ब्रिगेड ब्यान्डको ९० जनाको टोलीले विशेष प्रस्तुति दिने अध्यक्ष राईले जानकारी दिए।।

प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युकेएफसी भारतबीच हुने तालिका छ। प्रतियोगितामा आयोजक धरान, युकेएफसी भारत, केबिपिएस बङ्गलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौँ, बागमती युवा क्लब सर्लाही, केएफटिसी झापा र एन्फा मोरङ गरी कूल आठ टोलीको सहभागिता रहेको छ।

नेपालको ‘ए’ डिभिजन क्लबहरू मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, सङ्कटा क्लब, पोखराको सहारालगायत क्लबको भने यस पटक धरानमा उपस्थिति नहुने भएको छ। आयोजकले यस पटक उनीहरूलाई नबोलाएको बताएको छ।