पाँचथरको हिलिहाङमा आगलागीमा परी दुई बालकको मृत्यु

पाँचथर - पाँचथरमा आगलागीमा परी दुई बालकको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको घरमा आगलागी हुँदा सोही स्थानका शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो ।

परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा घरको माथिल्लो तलाको कुनामा पहिचान हुन नसक्ने अवस्थामा बालकहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । आगलागीमा घर पूर्णरूपमा जलेको छ ।