राज्यको जिम्मेवार पदमा बसेर सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्नु गलत हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भीड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने बताएका छन् । उनले संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताएका हुन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरुले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको जनाउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अङ्ग र निकायले गर्ने काममा संविधान र कानुनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनुपर्ने औँल्याए।

उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भीड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीसँगको छलफलमा पूर्वन्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजिक सद्भाव र एकतालाई खलबल्याउन र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको जनाउँदै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए।