सभामुख घिमिरे र राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुबीच भेटवार्ता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले भेटवार्ता गरेका छन् ।

आज बिहीबार भएको भेटमा भेटका अवसरमा दुवैबीच हतियार निःशस्त्रीकरणमा राष्ट्रसङ्घ तथा नेपालले गरेका प्रयास, साना र हलुका हतियारसम्बन्धी कार्ययोजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदनलगायत विषयमा छलफल भएको थियो । भेटमा सभामुख घिमिरेले निःशस्त्रीकरण मामिलामा राष्ट्रसङ्घले गरेका विश्वव्यापी प्रयासको सरहाना गरे। 

उनले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्रसङ्घसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए । सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य देशको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तको समर्थन गर्ने बताए ।

उपमहासचिव नाकामित्सुले नेपालको संसद्ले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् । जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसद्ले गृहकार्य गर्ने जानकारी दिए।