पार्टीको इतिहासलाई सम्झेर अगाडि बढ्न कार्यकर्तालाई देउवाको निर्देशन 

काठामाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको इतिहासलाई सम्झेर यसलाई अझै बलियो बनाउने गरी अगाडि बढ्न निर्देशन दिएका छन् ।

कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई पुतलीबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेस सिद्धियो, सिद्धियो भन्ने गरेको भए पनि आफूले जस्ताको तस्तै देखेको टिप्पणी गरे ।

उनले एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताए । सभापति देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभइ बाध्यता भएको बताएका हुन् ।

संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नदेखिएको उनले बताए । बहुमत पु¥याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता भएको उनको भनाइ थियो ।