एमाले बागमती अधिवेशनमा अध्यक्षका चार प्रतिस्पर्धी को-को हुन् ? ११ सय ३८ प्रतिनिधि सहभागी हुने

धादिङ - एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा चार जना नेता अध्यक्षका मुख्य प्रतिस्पर्धी देखिएका छन् । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म करिब डेढ दर्जनले आकांक्षा राखेर आन्तरिक लबिङ सुरु गरेका छन् । 

अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले नेतृत्वका लागि दाबी गर्दै अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलसहितका नेता र प्रतिनिधिसँग लबिङ सुरु गरेका छन् । काठमाडौं, भक्तपुर, ललितपुरसहित १३ जिल्लामध्ये कुनै जिल्लाबाट तीनजनासम्मले पदाधिकारीमा दाबी गरेका छन् । 

अध्यक्षका दाबेदारमध्ये काठमाडौंबाट प्रतिनिधि बनेका बागमतीका पूर्वसभामुख श्रेष्ठ पूर्वपोलिटब्युरो सदस्य हुन् । नुवाकोटका पाण्डेले तदर्थ कमिटीको नेतृत्व गरेकाले पुनः निर्वाचित अध्यक्षका लागि आकांक्षा राखेका छन् । केन्द्रीय सदस्यद्वय ढुंगेल रामेछाप र दाहाल गृहजिल्ला मकवानपुरबाट प्रतिनिधि छनोट भएर आएका छन् । आकांक्षी चारमध्ये अन्तिममा भने दुईजनाबीच मात्रै मुख्य प्रतिस्पर्धा हुने एमाले वृत्तमा चर्चा छ । 

अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् । ८ असोजमा काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्दै छन् ।