संघीय संसदको संयुक्त बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ - संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ ।

बुधबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० बहुमतले स्वीकृत भएको हो ।

समितिका सभापति ध्रुवबहादुर प्रधानले सदन समक्ष प्रतिवेदन पेस गरेका थिए । साथै संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।

सभामुख देवराज घिमिरेले समितिको प्रतिवेदन स्वीकृत भएको जानकारी दिँदै भने – ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु । संशोधनको सूचना ७२ घण्टाभित्र विधेयक शाखा प्रतिनिधि सभा सिंहदरबारमा दिन सक्नु हुनेछ ।’

संघीय संसदको दुवै सदनको संयुक्त बैठक जेठ १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।