उपनिर्वाचन तनहुँ–१ : ४० प्रतिशत मतगणना सकिँदा कसलाई कति भोट ?

 काठमाण्डौँ - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा अहिलेसम्म ४० प्रतिशत मतगणना सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार अहिलेसम्म ४० प्रतिशत मतगणना सकिएको हो ।  भोलिसम्म गणना सक्नेगरी मतगणना भइरहेको उनले बताए । ‘४० प्रतिशत मतगणना सम्पन्न भएको छ । भोलिसम्म नतिजा आइसक्छ,’ शर्माले भने । 

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म १२ हजार ७०५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ७ हजार ६४६ मत ल्याएका छन् । उनीभन्दा वाग्ले ५ हजार ५९ मतान्तरले अगाडि रहेका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार २१९ मत पाएका छन् । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार कुल १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको त्यहाँ उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ । तनहुँ–१ मा विभिन्न ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।