सन्दिप रिजाल
खै, अब कसरी फर्केलान् र ति बालापनका दिनहरू ? जब होली आउँथ्यो तब ति सप्तरङ्गी इन्द्रेणी जस्तै रङ्गिएका रङहरू लगाउने र पानी छ्याप्ने हामी बिच होडबाजी नै चल्थ्यो । अनि काठमाडौंबाट साना बाबाले ल्याइदिएको बेलुन अनि पिच्कारीमा पानी भरेर ओल्लाघरका हामी दाजुभाई अनि पल्ला घरका दाई र बहिनीहरू त्यस्तै माख्ला घरका काकाको छोरी अनि छोरा हामी सबै एकैसाथ मिलेर खेलिन्थ्यो होली । कति रमाइला थिए है ति बिगतका दिनहरू ।
अब त ति बिगतका दिनहरू सम्झनामा मात्रै सिमित छन् । बालापनमा त कसैले रङ लगाइदियोस भन्ने हुन्थ्यो । अहिले त रङ देख्दा पनि झर्को लाग्न थालेको छ ,खोइ किन हो ? सायद जिन्दगी नै रङ्गहीन भएर पो हो की ? सानो छँदा न कुनै चिन्ता थियो नत कुनै पिर । थियो त केबल बचपनको रमाइलो अनि सबैको मिठास शब्दले भरिएका माया थिए । अब त ति माया पाउन धेरै मुस्किल भैसकेको छ । सायद यहि भएर पो हो की मैले यो जिन्दगीलाई रङ्गहीन जिन्दगीको उपनाम दिएको ।
अहिले भर्खरै मात्रामा बजारमा आएको भुपु पाण्डेको आवाजमा सजिएको गितले, जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ, भने झै मेरो जिन्दगी पनि चल्न त चलिरहेको छ तर न कुनै पुग्ने गन्तव्य छ न त कुनै ठाउँ नै छ ।
हो अब यो भताभुङ्ग भएको जिन्दगीलाई होलीको रङ जस्तै समेटेर रङ्गीन बनाउनुछ । अनि होली आउँदा मनमा हर्ष उमङ्ग बोकी पहिलाको जस्तै गरी यि ओठमा हाँसो लिएर रमाउन मन छ । फेरी पनि ति बालापनका साथिसङ्गी सँगै दिल खोलेर रमाउन मन छ । ति बेलुन अनि पिच्कारी ल्याइदिने साना बा लाई फेरी एक पटक बेलुन अनि पिच्कारी ल्याइदिनु भन्न मन छ । अनि साथि सङ्गीका गाला अनि निधारमा रङका टिका लगाइदिदैँ रमाइलो गर्न मन छ । अनि साथि हरूलाई लखेटी लखेटी पानी छ्याप्ने रहर छ । आजभोली यस्तै सोच्दै बित्ने गर्छन मेरा दिनहरू ।
बिगत त बिगत हो बिगतमा जे भयो ति कुराहरू त पुन फर्केर आउन सक्दैनन् नि होइन र ? तर पनि खोइ किन यो मनले पहिलाकै जस्तो बचपनमा नै फर्किन पाए हुन्थ्यो भन्छ । अचम्मको मोडमा पुगेछ जिन्दगी न त कोही अञ्जान छन न त कोही आफ्ना छन् । सायद यो मनकै कुरा त होला नि कोहीलाई आफ्ना ठान्नु र कोहीलाई पराई ठान्नु पनि होइन र ? भन्छन् समय आफै देखिँदैन तर धेरै कुरा देखाएर जान्छ । हो सायद यहि कुरा नै मलाई समयले सिकाउँदै छ ।
ईच्छा, हौसला, संघर्ष र धैर्यता हुनुपर्छ जिन्दगी कुनै बेला पनि फल्न फुल्न सक्छ अनि होलिका रङहरू जस्तै शुन्दर भविष्यको निर्माण हुन सक्छ । हो यहि भन्ने आशामा बित्दै छ जिन्दगी, यहि कुरा त हो मैले मेरी आमाले दिएकी शिक्षामा पाएको, शिक्षा असफल होला तर मेरी आमाले सिकाएको संस्कार भने कहिले असफल हुन दिने छैन । कठिन परिस्थितिमा पनि मुस्कुराईरहनेको संगत परफ्युमको दुकान जस्तै हो केही नलिगे पनि सुगन्ध आइरहन्छ ।